सुरुङ्गा खबर, सप्तरी। बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा नगर प्रमुख किशोरी साह कलवारका सहयोगी सोनफी यादवलाई प्रहरीले पक्राउ गरेको छ।
यादवलाई काठमाडौंस्थित सिंहदरबार परिसरबाट पक्राउ गरी बारास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ। यादव केही दिनअघि मेयर कलवारसँगै काठमाडौं आएका थिए।
यद्यपि कुटपिट घटनामा मुख्य अभियुक्तको रूपमा रहेका मेयर कलवार भने हालसम्म फरार छन् र प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ।
प्रशासकीय अधिकृत जयसवालमाथि भएको कुटपिटप्रति स्थानीय प्रशासन, नागरिक समाज र कर्मचारी युनियनले गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी छ र संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।