सुरुङ्गा सम्बाददाता
काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजको मौलिक स्वाद बोकेको नयाँ गीत ‘कम्मरु भाचौला’ सार्वजनिक भएको छ। गायक तथा सर्जक मोतिराज खनालको प्रस्तुतिमा तयार भएको गीतको म्युजिक भिडियोमार्फत तीजको रमाइलो, पारिवारिक सम्बन्ध र माइतीप्रतिको आत्मीयतालाई प्रस्तुत गरिएको छ।
तीजको सांस्कृतिक परिवेशलाई केन्द्रमा राखेर तयार पारिएको गीतमा नाचगान, हास्य–व्यंग्य र पारिवारिक भावनालाई मनोरञ्जनात्मक शैलीमा जोडिएको छ। गीतमा मोतिराज खनाल, बैकुण्ठ महत र रेखा पोखरेलको स्वर रहेको छ।
म्युजिक भिडियोमा भुवन के. पोखरेल र जुना कार्की मुख्य भूमिकामा देखिएका छन्। त्यस्तै भगवान भण्डारी र रेनुका बरालको समेत अभिनय रहेको छ।
गीतका शब्द मोतिराज खनाल र किरण पन्थीले लेखेका हुन् भने संगीत मोतिराज खनालकै रहेको छ। लक्षु प्रकाश मल्लको एरेन्जमा तयार भएको गीतको मिक्सिङ तथा मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन्। गीतको रेकर्डिङ द म्युजिक एरा स्टुडियोमा गरिएको हो।
श्रीमान्–श्रीमतीको ठट्यौलीदेखि माइतीको सम्झनासम्म
‘कम्मरु भाचौला’को भिडियोमा तीजमा माइत जाने चेली र श्रीमान्बीचको रमाइलो संवादलाई कथाको मुख्य आधार बनाइएको छ। श्रीमती माइत जाने तयारीमा रहँदा श्रीमान्ले यसपालि माइत नजान आग्रह गर्दै आफूसँगै तीज मनाउने र नाच्ने प्रस्ताव राख्छन्।
यही क्रममा माइतीबाट बाबाको फोन आएपछि भिडियोको कथा भावनात्मक बन्छ। बाबाको फोनमार्फत छोरीप्रतिको माया, माइतीको आत्मीयता र तीजमा चेलीबेटीलाई माइत बोलाउने नेपाली परम्परालाई उजागर गरिएको छ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी शिवाजी क्षेत्रीले गरेका छन्। सुनिल राउत तथा उनको टिमले छायांकन गरेको भिडियोमा विनोद बमले भिजुअल एडिट तथा कलरको काम गरेका छन्। मेकअपतर्फ शंकर सुमनले जिम्मेवारी सम्हालेका छन्।
गीत तथा भिडियोले तीजको सांस्कृतिक वातावरणसँगै पारिवारिक प्रेम, श्रीमान्–श्रीमतीबीचको हास्यपूर्ण सम्बन्ध, माइतीको सम्झना र नृत्यलाई एउटै कथामा समेटेको कलाकार तथा मोडल भुवन के. पोखरेलले बताएका छन्।
पछिल्लो समय टेलिसिरियल **‘सहरीया बुहारी’**मा मुख्य भूमिकामार्फत समेत दर्शकमाझ परिचित बन्दै आएका पोखरेलका लागि ‘कम्मरु भाचौला’ अर्को नयाँ प्रस्तुतिका रूपमा आएको छ।
तीजको मौलिकता, पारिवारिक आत्मीयता र मनोरञ्जनलाई जोडिएको ‘कम्मरु भाचौला’ले यस वर्षको तीजमा दर्शक–श्रोतामाझ छुट्टै आकर्षण बनाउने अपेक्षा गरिएको छ।