शियाराम यादव , पुस ४
सुरुङ्गा खबर, सिरहा। गोली प्रहारबाट गम्भीर घाइते भएका बिरेन्द्र कुमार महतोलाई परोपकारी संस्था हेल्प मधेसी कतारले रु. २ लाख ५१ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ। यो सहयोग संस्था का पूर्वअध्यक्ष रामकल्याण महतो र वर्तमान अध्यक्ष रमेश यादवको पहलमा प्रदान गरिएको हो।
सहयोग रकमको सबै रकम कतार केन्द्रबाट रु. १ लाख र DLP दलानबाट रु. १ लाख ५१ हजार संकलन गरिएको संस्थाले जनाएको छ।
महतो र उनका छोरा अनिल कुमार महतो केही हप्ता अघि सिरहाको कल्याणपुर नगरपालिका-१२, बेल्हा कट्टी गाउँमा एक आपराधिक घटनामा गोली प्रहारबाट गम्भीर घाइते भएका थिए। उक्त घटना मंसिर २ गते घटेको थियो, जब डकैत समूहले चोरी–डकैती गर्न खोज्दा स्थानीयवासीहरूले प्रतिकार गरेका थिए। यस्तै अवस्थामा, डकैत समूहका एक सदस्यलाई समात्ने प्रयास गर्दा गोली प्रहार भएको थियो, जसमा महतो र उनका छोरा गम्भीर घाइते भएका थिए।
घटनापछि अहिले सम्म दोषीलाई कारबाही गर्ने कुनै कदम नचालिएको र सरकारी आर्थिक सहयोग पनि प्राप्त नभएको पीडित परिवारले बताएका छन्।
हेल्प मधेसी कतार DLP दलानका पूर्वअध्यक्ष महतोको सुरक्षा, उपचार र सहयोग गर्नु संस्थाको सामूहिक जिम्मेवारी भएको भन्दै सो निर्णय लिइएको हो।
सहयोग कार्यक्रममा हेल्प मधेसी कतारका कोषाध्यक्ष सन्तोष शाह, संस्थापक प्रभात महतो, वडा अध्यक्ष दिलिप यादव, नेपालका पूर्व अध्यक्ष राम उदगार यादव, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य शिवकुमार महतो, गैरआवासीय नेपाली संघका शियाराम यादव लगायत अन्य पत्रकार, बुद्धिजीवी, समाजसेवी र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
महतो परोपकारी संस्था हेल्प मधेसी कतारले सम्पूर्ण दाताहरू र DLP दलानका सेवकहरू कल्याण, रमेश, मनोज, लक्ष्मण र भागरथलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।