सुरुङ्गा खबर, सप्तरी। रुपन्देही – रोहिणी गाउँपालिका उपमेयर शिवकान्ती चमारले भन्नुभयो, “हाम्रो चमार समाजले जबसम्म पढ्दैन, तबसम्म जीवन अगाडि बढ्दैन।”
उहाँले उक्त कुरा चमार कल्याण समाज नेपाल गाउँपालिका समिति द्वारा आयोजित कार्यक्रममा बताउनुभयो। कार्यक्रममा पालिकाभरिबाट एसईई परीक्षा उत्तीर्ण गरेका ७ जना चमार समुदायका विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको थियो।
उपमेयर चमारले आर्थिक अभावका कारण कुनै पनि चमार वा अत्यन्तै गरिब समुदायका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित हुन नदिन, स्कुल जान चाहने बच्चाहरूलाई आफैंले कम्तीमा रु ५,००० दिने प्रतिवद्धता जनाउनुभयो। साथै, पालिकाका दलित समुदायका लागि करिब १० लाख रुपैयाँ बराबरको वार्षिक योजना ल्याउने तयारी भइरहेको जानकारी पनि दिनुभयो।
कार्यक्रममा बिशिष्ट अतिथिको रूपमा सहभागी हुनु भएका सिडब्लुएसका सल्लाहकार कृष्णमुरारी चमारले एसईई पास विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गर्नुभयो। सम्मानित हुने विद्यार्थीहरूमा पुरन चन्द चमार (रा.न.या. धकधई मा.वि.), धिरज हरिजन (पशुपति मा.वि.), इन्द्रावती चमार (पजरकट्टी मा.वि.), शोभा कुमारी हरिजन (छिपागढ मा.वि.), आदित्य हरिजन (पिपरहवा मा.वि.) र अनिल हरिजन (बगहा मा.वि.) रहेका छन्।
समाजका प्रदेश समिति प्रतिनिधि दिपचन्द चमारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि सिडब्लुएसका सल्लाहकार कृष्णमुरारी चमार, गा.पा.का समाजसेवी हरिद्वार चमार, वडा नं. ७ का कार्यवाहक वडा अध्यक्ष जग्गु चमार, सिडब्लुएस गाउँपालिका प्रतिनिधि रोहित चमार लगायतले आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रम सिडब्लुएस साउदी अरेबियाको आर्थिक सहयोगमा, दिपचन्द चमारको संयोजन र उपमेयर शिवकान्ती चमारको विशेष पहलमा सम्पन्न भएको हो।