जीवन कुमार राम जेठ ३
सुरुङ्गा खबर, सप्तरी। हेल्प मधेशी साउदी अरबको सहयोगमा हेल्प मधेशी नेपाल शाखा जिल्ला धनुषाले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–५, नौसय विघा उत्तरवारी टोलमा बसोबास गर्दै आएकी एकल महिला श्रीमती स्व. मकेश्वर साहलाई आर्थिक तथा मानवीय सहयोग प्रदान गरेको छ।
स्व. मकेश्वर साहको दुई वर्षअघि दुःखद निधन भएपछि परिवार आर्थिक र मानसिक रूपले अत्यन्तै कठिन अवस्थामा रहेको थियो। श्रीमानको मृत्युपछि पीडित महिलाको मानसिक अवस्था समेत अस्थिर बनेको र जीविकोपार्जनमा गम्भीर कठिनाइ झेलिरहेको खबर पाएको आधारमा हेल्प मधेशी नेपालले सहयोगको हात अगाडि बढाएको हो।
सहयोग कार्यक्रममा हेल्प मधेशी नेपालका संस्थापक अध्यक्ष राम उदगार यादव, केन्द्रीय उपाध्यक्ष संजय यादव, धनुषा शाखा अध्यक्ष राजेन्द्र कुमार यादव, अन्तर्राष्ट्रिय समिति सचिव विजय कुमार मण्डल, हेल्प मधेशी साउदी अरबका केन्द्रीय अध्यक्ष श्याम कुमार महतो लगायत सेवक सदस्यहरू दिपक यादव, राजेन्द्र यादव, दिनेश मण्डल र रञ्जित यादवको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै कार्यक्रममा गाउँका बुद्धिजीवी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको समेत उपस्थिति रही सहयोग कार्यक्रमलाई आत्मीयता र संवेदनशीलताका साथ सम्पन्न गरिएको थियो।
हेल्प मधेशी साउदीले आगामी दिनमा पनि समाजका दु:खी, गरिब तथा पीडितहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।