हरिनन्दन अम्बेडकर निर्विरोध राष्ट्रिय अध्यक्षमा चयन

0 Shares

सुरुङ्गा सम्बाददाता बरहथवा, सर्लाही।

बहुजन एकता पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया जारी, बाँकी पदमा सहमतिको प्रयास

बहुजन एकता पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन–२०८३ को बन्दसत्रबाट हरिनन्दन अम्बेडकर निर्विरोध राष्ट्रिय अध्यक्षमा चयन हुनुभएको छ। महाधिवेशनबाट विभिन्न पदमा पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका छन् भने केन्द्रीय समितिका बाँकी पदमा सहमति जुटाउने प्रयास जारी रहेको छ।

महाधिवेशनबाट धनुषाका भोगेन्द्र मिश्र वरिष्ठ नेतामा चयन हुनुभएको छ। त्यसैगरी, उपाध्यक्षमा रिङ्गला थारू, महासचिवमा राम प्रगास मोची र सुर्जा महरा, सहमहासचिवमा यशोदा तिमिल्सिना, कोषाध्यक्षमा जितेन्द्र राम, सचिवमा पिंकी साह र सुजित कुमार महरा, सहसचिवमा जग्रनाथ चौधरी तथा सहप्रवक्तामा अधिवक्ता नन्दन महरा सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

पार्टीको ८१ सदस्यीय केन्द्रीय समितिका लागि हालसम्म ४० जना सदस्य सहमतिका आधारमा चयन भइसकेका छन्। बाँकी ४१ सदस्य पदका लागि ८३ जनाको उम्मेदवारी कायम रहेको छ। ती पदमा पनि सर्वसम्मति कायम गराउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका संयोजक मनोज महराका अनुसार बाँकी ६ उपाध्यक्ष पदका लागि १३ जना र एक सहप्रवक्ता पदका लागि तीन जनाको उम्मेदवारी कायम रहेको छ। सम्बन्धित पदहरूमा सहमति जुटाउन छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।

महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा बहुजन समुदायको राजनीतिक प्रतिनिधित्व, समानुपातिक सहभागिता र अधिकारका विषयमा समेत छलफल भइरहेको छ।

बाँकी पदमा सहमति कायम हुन नसके निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिने सम्भावना रहेको छ। बहुजन एकता पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनलाई अघि बढाउँदै संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित बाँकी पदमा सहमति जुटाउने प्रयास गरिरहेको छ।

सम्बन्धित समाचार

सबै