बलानबिहुल गाउँपालिकामा हरवा चरवा ज्याला निर्धारण समिति गठन सम्बन्धी छलफल सम्पन्न

0 Shares

सुरुङ्गा सम्बाददाता, ७ श्रावण

सुरुङ्गा खबर, सप्तरी। द फ्रिडम फण्डको आर्थिक सहयोग तथा जन चेतना दलित संगम को आयोजनामा सञ्चालित हरवा चरवा सशक्तीकरण कार्यक्रमअन्तर्गत बलानबिहुल गाउँपालिका–मलहनियामा पालिकास्तरीय ज्याला निर्धारण समिति गठन तथा परिचालन सम्बन्धी छलफल बैठक सम्पन्न भएको छ।

 

बैठकको उद्देश्य श्रम अधिकार सम्बन्धी विद्यमान कानुनी व्यवस्थाबारे जानकारी गराउने, न्यूनतम ज्याला तथा समान ज्यालाको अवधारणा स्पष्ट गर्ने, स्थानीय सरकारको भूमिका र जिम्मेवारीबारे छलफल गर्ने तथा गाउँपालिकास्तरीय ज्याला निर्धारण समिति गठन प्रक्रियालाई सहजीकरण गर्नु रहेको थियो।

 

कार्यक्रम जन चेतना दलित संगमका सचिव हरी प्रसाद रामको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य सन्तोष कुमार साह, रोजगार संयोजक धिरज कुमार झा, महिला तथा बालबालिका शाखा प्रमुख विजय महासेठ, नगरस्तरीय हरवा चरवा अधिकार मञ्चका गुलेती राम ग्रेटर नेपाल युवा क्लबका उपेन्द्र राम, पत्रकार मणीलाल विश्वकर्मा, जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र राम लगायत स्थानीय हरवा चरवा जनसंगठनका अगुवा तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

 

कार्यक्रममा श्रम अधिकारको संरक्षण, श्रमिकका लागि न्यूनतम तथा समान ज्यालाको सुनिश्चितता, स्थानीय तहको जिम्मेवारी तथा हरवा चरवा समुदायको सामाजिक तथा आर्थिक सशक्तीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले गाउँपालिकास्तरीय ज्याला निर्धारण समितिलाई प्रभावकारी रूपमा गठन तथा परिचालन गरी श्रमिकहरूको अधिकार संरक्षणमा स्थानीय सरकारको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी तथा हरवा चरवा समुदायका प्रतिनिधिहरू गरी ४० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता छलफलले श्रमिक अधिकारको संरक्षण, न्यूनतम ज्यालाको कार्यान्वयन तथा हरवा चरवा समुदायको अधिकार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

सबै