विदेशी रोजगारीको नाममा ठगीको आरोप : २५ जना पीडितद्वारा जलेश्वर प्रहरीमा सामूहिक उजुरी

0 Shares

सुरुङ्गा सम्बाददाता, जलेश्वर ३ साउन।

साउदी अरेबियामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर रकम असुलेको आरोपमा महोत्तरीको जलेश्वर नगरपालिका निवासी राजेश चमार (महरा) र उनकी पत्नी मञ्जु देवी विरुद्ध २५ जना पीडितले जलेश्वर प्रहरी कार्यालयमा सामूहिक उजुरी दर्ता गराएका छन्।

पीडितहरूको उजुरीअनुसार, उनीहरूले साउदी अरेबियाको NADEC कम्पनी मा वैदेशिक रोजगारीका लागि पठाइदिने आश्वासन दिँदै ४८ जनाबाट प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले रकम संकलन गरेका थिए। तर, लामो समय बितिसक्दा पनि कुनै व्यक्तिलाई वैदेशिक रोजगारीमा नपठाइएको तथा लिएको रकमसमेत फिर्ता नगरिएको पीडितहरूको दाबी छ।

उक्त घटनापछि हालसम्म २५ जना पीडितले जलेश्वर प्रहरी कार्यालयमा ठगीसम्बन्धी सामूहिक उजुरी दर्ता गराउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।

यस विषयमा जलेश्वर प्रहरीले उजुरी दर्ता गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले जनाएको छ।

उजुरीमा लगाइएका आरोपहरू हाल अनुसन्धानको क्रममा रहेकाले सम्बन्धित पक्षको आधिकारिक धारणा आउन बाँकी रहेको छ। प्रहरीले सबै पक्षको बयान, प्रमाण तथा आवश्यक कागजात संकलन गरी निष्पक्ष अनुसन्धान गरिरहेको जनाएको छ।

कागजातहरु

सम्बन्धित समाचार

सबै