बिष्णु राम, बिरगंज। गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी संस्थाले स्थापना भएको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा १८औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक, सञ्चालक समिति, कर्मचारी तथा बजार प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमका अवसरमा अध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त रूपमा केक काटेर वार्षिकोत्सव मनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव कन्हैया पटेलले विद्यार्थी जीवनमा साथीहरूबाट प्रतिव्यक्ति पाँच सय रुपैयाँ संकलन गरी स्थापना गरिएको संस्था आज करोडौँ रुपैयाँ पुँजी भएको सहकारीका रूपमा स्थापित भएको बताए। उनले आगामी दिनमा पनि पारदर्शी, विश्वसनीय तथा सदस्यकेन्द्रित सेवा प्रवाहलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष राजकुमार गुप्ताले आगामी श्रावण महिनादेखि हालको कार्यालयलाई वीरगञ्ज महानगरपालिका–८, लिङ्क रोडस्थित नयाँ तथा सुविधासम्पन्न भवनमा स्थानान्तरण गरी सेवा सञ्चालन गरिने जानकारी दिए। नयाँ भवनबाट सदस्य तथा सेवाग्राहीले अझ सहज, सुरक्षित र गुणस्तरीय वित्तीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले डिजिटल सेवा, सुशासन र सदस्यमैत्री कार्यशैलीलाई थप सुदृढ बनाइने बताए।