सुरुङ्गा सम्बाददाता , चैत ७
सप्तरी। जन चेतना दलित संगमको आयोजनामा सप्तरीको सुरुङ्गा नगरपालिकामा ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवस भव्य रूपमा सम्पन्न भएको छ।
सुर्खेतकी दलित बालिका अनिशा विकमाथि भएको बलात्कारपछि हत्या घटनाको पीडा अझ सेलाउन नपाउँदै, सप्तरीमा फेरि एक नाबालिकासँग सम्बन्धित गम्भीर घटना सार्वजनिक भएको छ। सुरुङ्गा नगरपालिका–३, लक्ष्मीपुरमा १४ वर्षीया एक बालिका गर्भवती बनेको घटना बाहिरिए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न नमानेको विषयले समुदायमा तरंग फैलिएको छ।
यसैगरी, सुरुङ्गा नगरपालिकाकै अर्को घटना अन्तर्गत पूजा कुमारी रामको बलात्कारपछि हत्या भएको एक वर्ष पुग्न लाग्दा पनि हालसम्म अपराधी पक्राउ नपर्नु दलित समुदायका लागि न्याय प्राप्ति कठिन रहेको संकेत गर्दछ। त्यसकारण सम्पूर्ण दलित समुदायले आफ्ना संवैधानिक हक–अधिकारको सुनिश्चितताका लागि एकजुट भई आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको संगमका कार्यकारी निर्देशक इन्द्र रामले बताउनुभयो।
मन्तव्यका क्रममा हरवा–चरवा अधिकार मञ्च सप्तरीका अध्यक्ष देबलाल रामले प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दलहरूले हरवा–चरवा तथा मधेशी दलित समुदायको सहभागिता सुनिश्चित नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। त्यस्तै, चन्द्रकला सदाले मधुपटीस्थित डिहबार मन्दिरमा स्थानीय गैरदलितहरूले पूजा गर्न नदिएको गुनासो गर्नुभयो।
सुरुङ्गा नगर मञ्चका संयोजक शोभित रामले स्थानीय तथा प्रदेश सरकारले दलित तथा हरवा–चरवा समुदायको पुनर्स्थापनाका मागहरूलाई हालसम्म बेवास्ता गरिरहेको बताउनुभयो। स्थानीय समाजसेवी तेजनारायण चौधरीले दक्षिण अफ्रिकामा रहेको कालागोरा विभेद र नेपालमा विद्यमान जातीय विभेदबीच समानता रहेको उल्लेख गर्दै यसलाई जरैदेखि उखेलेर फाल्न सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले दलित समुदाय हिन्दू धर्मभित्र अपहेलित रहेको उल्लेख गर्दै जातीय विभेद अन्त्यका लागि बालबालिकाको शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो।
जन चेतना दलित संगमका का.वा. अध्यक्ष सोमित्रा रामको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल राम समाजका अध्यक्ष प्रथमलाल राम तथा विशिष्ट अतिथिहरूमा हरवा–चरवा अधिकार मञ्चका देव लाल राम, नेपाल मुसहर संघकी केन्द्रीय सदस्य शलीता कुमारी सदा लगायत स्थानीय दलित अगुवा, हरवा–चरवा जनसंगठनका सदस्य, संस्था कार्यसमिति तथा कर्मचारी गरी ४५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्यबारे संगमका निर्देशक इन्द्र रामले जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रेमकुमार विश्वकर्माले गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रमपछि कनकपुर बजार क्षेत्रमा “दलित एकता जिन्दावाद”, “दलितमाथि हुने हत्या हिंसा बन्द गर”, “दोषीमाथि कानुनी कारबाही गर”, “अनिशा विक र पूजा कुमारी रामका हत्यारालाई कारबाही गर” लगायतका नारासहित र्याली प्रदर्शन गरिएको थियो।