सबैभन्दा बढी मत, तर मधेशी दलितको शून्य प्रतिनिधित्व: मधेशमा आन्दोलन घोषणा

0 Shares

सुरुङ्गा सम्बाददाता, जनकपुर  ३ चैत
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि मधेश प्रदेशमा दलित समुदायबीच असन्तोष बढेको छ। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ मधेशका जिल्लाबाट सबैभन्दा धेरै मत पाएको भए पनि मधेशी दलित समुदायबाट एक जनालाई पनि समानुपातिक सांसदमा नछानिएको भन्दै दलित अगुवाहरू आक्रोशित बनेका हुन्।

जनकपुरधाममा बसेको दलित अगुवाहरूको बैठकले उक्त विषयलाई गम्भीर रूपमा उठाउँदै आन्दोलनको घोषणा गरेको छ। सहभागीहरूले समानुपातिक प्रणालीको उद्देश्य नै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु भए पनि दलित समुदायलाई पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाए। उनीहरूको भनाइमा, सबैभन्दा बढी मत प्राप्त गर्ने दलले नै दलित समुदायलाई स्थान नदिनु लोकतान्त्रिक मान्यता र समावेशीताको भावना विपरीत हो।
बैठकमा वक्ताहरूले सम्बन्धित निकायसँग तत्काल निर्णय पुनरावलोकन गरी दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे। उनीहरूले माग सम्बोधन नभए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी पनि दिएका छन्। प्रस्तावित कार्यक्रमअन्तर्गत विरोध सभा, ज्ञापनपत्र बुझाउने र आवश्यक परे सडक संघर्षसम्मका गतिविधि सञ्चालन गर्ने जनाइएको छ।

मंगलबार जनकपुरधाममा प्रथमलाल रामको अध्यक्षतामा बसेको बैठकमा रामो महरा, विनोद महरा, सुनिता मेस्तर्नी, रामेश्वर महरा, रामसोगारथ राम, इनरजीत मेस्तर, सिजेन्द सदा, राजेश सक्सेना लगायतका नेताहरू सहभागी थिए। बैठकले दलित समुदायभित्रै संघर्ष समिति गठन गरी आन्दोलन अघि बढाउने निर्णय गरेको छ।
दलित अगुवाहरूले राज्यका सबै तह र निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित नभएसम्म आफ्नो संघर्ष जारी रहने स्पष्ट पारेका छन्।

सम्बन्धित समाचार

सबै