सुरुङ्गा खबर, सप्तरी। रौतहट जिल्लामा पहिलो पटक डोम समुदायकी एक छात्रा विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण गरेकी छन्। मौलापुर नगरपालिका–५ की स्थायी तथा शिवनौगढ़ नगरपालिका अन्तर्गत नयकाटोलामा अस्थायी रूपमा बसोबास गर्दै आएकी अन्जु कुमारी मल्लिकले २०८१ सालको SEE परीक्षामा 2.77 GPA ल्याएर सफलता हासिल गरेकी हुन्।
अन्जु कुमारी डोम समुदायका अग्रज नेता तथा समाजसेवी बिरेन्द्र मल्लिक डोमकी सुपुत्री हुन्। ऐतिहासिक रूपमा सामाजिक, आर्थिक तथा शैक्षिक रूपमा पछाडि पारिएको डोम समुदायबाट पहिलो पटक महिला विद्यार्थीले माध्यमिक तह पार गर्नु समाजकै लागि प्रेरणादायी कदम भएको बताइएको छ।
उक्त उपलब्धिले सम्पूर्ण डोम समुदायमा उत्साह थपेको छ। अन्जुको उच्च शिक्षा प्राप्तिको लक्ष्यलाई अगाडि बढाउनका लागि आर्थिक तथा शैक्षिक सहयोगको खाँचो रहेकोले गैरसरकारी तथा सरकारी संघसंस्थाहरूसँग सहयोगका लागि अपील समेत गरिएको छ।
समाजका कमजोर तथा पछाडि पारिएका वर्गमा शिक्षाको उज्यालो फैलाउने यो पहललाई थप मजबुत बनाउन सबै पक्षको सहयोग अपेक्षित गरिएको छ।