सुरुङ्गा खबर, सप्तरी । केही समयअघि सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरकी १९ वर्षीया पूजा कुमारी रामको अपहरणपछि हत्या भएको घटनाको सन्दर्भ अझै ताजा छँदै सोही स्थानमा अर्को बालिकामाथि हत्या प्रयास गरिएको छ।
आज बिहान करिब ६ बजे विद्यालय जाँदै गरेकी बालिकालाई दुई जना नकाबधारी व्यक्तिले आक्रमण गरेका छन्। घटना महेन्द्र राजमार्गसँग जोडिएको कुशहा–हरिपुर सडकखण्ड अन्तर्गत राजमार्गबाट करिब ४ सय मिटर दक्षिणमा पर्ने शुली गेट नजिक भएको हो।
पीडित बालिकाका हजुरबुवा दुलिचन मण्डलका अनुसार, “एरियामा यस्ता आपराधिक घटनाहरू बारम्बार भइरहेका छन्। आज मेरी नातिनी पनि त्यसको चपेटामा परिन्,” भन्दै उनले दुःख व्यक्त गरे।
पीडित बालिकाका भनाइ अनुसार, आक्रमणकारीले पछाडिबाट समातेर बाटो छेउमा लडाएपछि ब्लेडले घाँटीमा प्रहार गर्न खोजेका थिए। तर संयोगवश बाटोमा अर्को व्यक्ति आइरहेको देखेपछि डराएर भागेका थिए। झडपका क्रममा सामान्य घाइते भएकी बालिकाको उपचार भइरहेको छ।
घटनापछि गाउँकै विद्यालयतर्फ जाँदै गरेका शिक्षकले बालिकालाई बाटो छेउमा बेहोस अवस्थामा फेला पारेपछि तत्कालै उनलाई कुशहास्थित जिनिस अस्पताल पुर्याइएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
“हामी घटनास्थल पुगेको बेलामा बालिकाले बोल्न सक्ने अवस्था थिएन। उनले हातले दक्षिण–पश्चिमतर्फ ईशारा मात्र गरिरहेकी थिइन्,” प्रत्यक्षदर्शीले बताए। हरिपुर आधारभूत विद्यालयका प्रधानाध्यापक अरुणदेव साहले आफ्नै मोटरसाइकलमा बालिकालाई अस्पताल पुर्याएका थिए।
इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार, बालिकाको अवस्था अहिले सामान्य रहेको छ र घटनाको अनुसन्धान भइरहेको छ। “हामी प्रत्यक्षदर्शी र पीडित परिवारसँग सोधपुछ गरिरहेका छौं, तर अहिलेसम्म यथार्थतथ्य खुल्न सकेको छैन,” उनले जानकारी दिए।
यस घटनाले सो क्षेत्रको सुरक्षाप्रति प्रश्नचिन्ह खडा गरेको छ। स्थानियबासीहरूले अपराध नियन्त्रणमा प्रहरी प्रशासनको प्रभावकारी उपस्थिति माग गरेका छन्।