जीवन कुमार राम, भाद्र ९ कडरबोना
सप्तरीको सुरुङ्गा नगरपालिका–६ कडरबोनास्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा थाइराइड परीक्षण सेवा सञ्चालनमा आएको छ।

स्वास्थ्य केन्द्रका प्रमुख कृष्णकुमार पण्डितले स्वास्थ्य केन्द्रमै थाइराइड परीक्षण सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो।

थाइराइड परीक्षण सेवा सञ्चालन कार्यक्रममा सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी, वडा नं. ६ का वडा अध्यक्ष दिनेशकुमार राम, स्वास्थ्य केन्द्रका डा. आशिषकुमार चौधरी, ल्याब असिस्टेन्ट उमेशकुमार यादव लगायत स्वास्थ्य केन्द्रका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य केन्द्रमै थाइराइड परीक्षणको सुविधा उपलब्ध भएपछि स्थानीय बासिन्दालाई परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। यसबाट सुरुङ्गा नगरपालिका–६ कडरबोना तथा आसपासका क्षेत्रका नागरिकले सहज र सुलभ रूपमा स्वास्थ्य सेवा लिन सक्नेछन्।
स्वास्थ्य केन्द्रले उपलब्ध स्वास्थ्य सेवाको प्रभावकारी उपयोग गर्न तथा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै परीक्षण र उपचार गराउन नागरिकलाई आग्रह गरेको छ।