अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा सखुवा प्रसौनीमा भव्य योग शिविर सम्पन्न

0 Shares

बिष्णु राम, पर्सा  असार १३

सुरुङ्गा खबर। अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा सखुवा प्रसौनी गाउँपालिकाको आयोजनामा तथा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको सहकार्यमा शनिबार सखुवा प्रसौनी गाउँपालिका–२ स्थित खेल मैदान, श्रीपुर बजार (पंचगावाँ) मा भव्य योग शिविर सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै भारतको महावाणिज्य दूतावास, वीरगञ्जका प्रतिनिधि श्री देवी सहाय मीणा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सशस्त्र प्रहरी बलका एसपी, गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, वडा नं. १ का अध्यक्ष बासुदेव महतो, वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो, वडा नं. ३ का अध्यक्ष मोजामिल अन्सारी, वडा नं. ४ का अध्यक्ष आरिफ अन्सारी, वडा नं. ५ का अध्यक्ष अशेश्वर यादव तथा वडा नं. ६ की अध्यक्ष मुना कमकर लगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यशवन्त यादवले योग केवल शारीरिक व्यायाम मात्र नभई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीको आधार भएको बताए। उनले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योगलाई दैनिक जीवनको अभिन्न अंगका रूपमा अपनाउन आवश्यक रहेकोमा जोड दिए।

अध्यक्ष यादवले गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य प्रवर्द्धन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै योगमार्फत स्वस्थ समाज निर्माणका लागि सबैलाई सक्रिय सहभागिताको आह्वान गरे।

कार्यक्रममा योग प्रशिक्षकद्वारा विभिन्न योगासन तथा प्राणायाम अभ्यास गराइएको थियो। सहभागीहरूले योगको महत्व, मानसिक शान्ति, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैली सम्बन्धी उपयोगी जानकारी प्राप्त गरेका थिए।

स्थानीयवासीहरूको उत्साहजनक सहभागिताका कारण कार्यक्रम थप प्रभावकारी बनेको आयोजकले जनाएको छ। योग शिविरले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायमा सकारात्मक जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

सम्बन्धित समाचार

सबै