सुरुङ्गामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २९९ जना लाभान्वित

0 Shares

सुरुङ्गा सम्बाददाता, कडरबोना

सुरुङ्गा नगरपालिका अन्तर्गत स्वास्थ्य शाखा मधुपट्टीको आयोजनामा “जनतासँग मेयर निःशुल्क स्वास्थ्य शिविर” शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ साल चैत १४ गते सञ्चालन गरिएको उक्त शिविरबाट २९९ जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन्।

स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन भएको शिविरमा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, सहयोगी हातहरू नेपाल र नेपाल क्यान्सर समूहले सहकार्य गरेका थिए।

शिविरमा विशेषगरी महिलालाई लक्षित गर्दै पाठेघर तथा स्तन क्यान्सर परीक्षण, स्त्रीरोग सम्बन्धी परामर्श, प्रयोगशाला सेवा तथा निःशुल्क औषधि वितरण गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रम क्यान्सरजस्ता गम्भीर रोगको प्रारम्भिक पहिचान र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको स्वास्थ्य शाखा प्रमुख दशन चौधरीले बताए।

शिविरमा क्यान्सर विशेषज्ञ डाक्टर दिपेन्द्र प्रसाद जैसवाल र डाक्टर स्मृति खनालले स्वास्थ्य सेवा प्रदान गरेका थिए। साथै नेपाल क्यान्सर सपोर्ट ग्रुपकी कोषाध्यक्ष रेजिना मुल्मीको पनि सहभागिता रहेको थियो।

नगरपालिकाकी मेयर गीता चौधरीले आफ्नो व्यक्तिगत अनुभव साझा गर्दै समयमै परीक्षण र उपचारको महत्त्व औंल्याइन्। क्यान्सरजस्तो रोगसँग आफूले सामना गरेको अनुभवले नै यस्ता कार्यक्रम सञ्चालन गर्न प्रेरित गरेको उनले बताइन्। उनका अनुसार, यस्ता शिविरले स्थानीय बासिन्दामा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै उपचार सेवामा पहुँच विस्तार गर्न सहयोग पुर्‍याउँछ।

स्वास्थ्य शाखा प्रमुख चौधरीले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै आर्थिक अभाव र जानकारीको कमीका कारण नियमित स्वास्थ्य जाँचबाट वञ्चित हुनेहरूलाई प्राथमिकतामा राखिएको बताए।

नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

सबै