बहुजन एकता पार्टी नेपालद्वारा मधेस प्रदेशका सबै समिति विघटन, महाधिवेशनको तयारी सुरु

0 Shares

सुरुङ्गा सम्बाददाता

जनकपुरधाम । बहुजन एकता पार्टी नेपालले संगठन सुदृढीकरण तथा आगामी राष्ट्रिय महाधिवेशनको तयारीका लागि मधेस प्रदेशका सबै संगठनात्मक समितिहरू विघटन गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार मधेस प्रदेश समिति तथा प्रदेशअन्तर्गतका आठवटै जिल्ला-सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विद्यमान जिल्ला समितिहरू विघटन गरिएको जनाइएको छ।

पार्टीका अनुसार २०८३ साल असोज महिनामा आयोजना हुने पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै संगठनलाई समयानुकूल पुनर्गठन गर्न उक्त निर्णय गरिएको हो। पार्टीले यो कदम कुनै व्यक्ति वा नेतृत्वप्रति असन्तुष्टिका कारण नभई संगठनलाई थप सक्रिय, प्रभावकारी र लोकतान्त्रिक बनाउने रणनीतिक प्रयासका रूपमा लिएको स्पष्ट पारेको छ।

केन्द्रीय कार्यसमितिले बैशाख मसान्तसम्म सबै जिल्लामा जिल्ला अधिवेशन तथा मातहतका नगर, गाउँ र वडा तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने व्यवस्था मिलाएको जनाएको छ। यसका लागि हालका जिल्ला अध्यक्षहरूको संयोजकत्वमा “जिल्ला अधिवेशन आयोजना समिति” गठन गरिनेछ। उक्त समितिले संगठन विस्तार, सदस्यता नवीकरण तथा नयाँ कमिटी गठनको प्रक्रिया अघि बढाउने जिम्मेवारी पाउनेछ।

पार्टीले यस प्रक्रियाबाट नयाँ नेतृत्वको विकास, कार्यकर्ताको व्यापक सहभागिता तथा संगठनलाई जरा तहसम्म मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। साथै बदलिँदो राजनीतिक परिस्थितिमा बहुजन समाजको अधिकार, सम्मान र प्रतिनिधित्वलाई अझ प्रभावकारी रूपमा स्थापित गर्न संगठनात्मक पुनर्संरचना आवश्यक रहेको पनि पार्टीले जनाएको छ।

पार्टीले सबै जिल्ला, नगर, गाउँ तथा वडा तहका नेता कार्यकर्तालाई पार्टीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै निर्धारित समयभित्र अधिवेशन सम्पन्न गरी नयाँ कमिटी गठन गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सबै