सल्हेस फुलवारी नजिक डा. अंबेडकर पार्क निर्माण हुनुको ऐतिहासिक र सामाजिक महत्व- हरिनन्दन रंजन

0 Shares

सुरुङ्गा खबर, सप्तरी। बैशाख १६ । मुलवासी समाजका महान सम्राट महाराज सल्हेस र श्रमण परम्पराका सर्वोच्च चिन्ह डा. भीमराव अंबेडकर, यी दुई नामहरू केवल इतिहासका पात्र होइनन्, यी दुवै बहुजन चेतनाका दीप हुन्, जसको उज्यालोले आजको समाजमा समानता, न्याय र आत्मसम्मानको प्रकाश फैलाउँदै आएको छ।

सल्हेस फुलवारी नजिक डा. अंबेडकर पार्क बन्नु भनेको केवल मूर्ति स्थापना होइन, यो एक ऐतिहासिक पुनरजागरण हो, जसले मुलवासी समाजका दबाइएका, हराइएका र तोडमोड गरिएका इतिहासलाई विश्वसामु उजागर गर्ने महत्वपूर्ण ढोका खोल्दैछ।

महाराज सल्हेसको विचार, दर्शन र शासन प्रणाली आजसम्म केवल केही गहबरहरूमा अन्धविश्वास र ब्राह्मणिकरणको पर्खालभित्र सीमित गरिएको  थियो। सल्हेस दरवार हाता भित्र शनिदेव स्थापना गरेर उनलाई चमत्कारी राजा वा हिन्दु राजा बनाइ प्रस्तुत गरिने प्रयासहरूले उनको समतामूलक, वर्णविहीन राज्य व्यवस्थाको वास्तविकता ओझेलमा पार्ने काम गरेको छ।

तर आज जब डा. अंबेडकरको नाममा पार्क सल्हेस फुलवारी नजिक निर्माण हुँदैछ, त्यसले केवल अंबेडकरको वैचारिकता प्रसारित गर्ने मात्र होइन, सल्हेसको इतिहासलाई पनि विश्वमञ्चमा पुर्‍याउने अवसर प्रदान गरिरहेको छ। अंबेडकर हेर्न आउने विद्वान, पर्यटक वा आन्दोलनकर्मीहरू महाराज सल्हेसको योगदानलाई पनि जान्न चाहनेछन्, अनुसन्धान गर्नेछन् र त्यहाँबाट बहुजन इतिहासको एउटा नयाँ अध्याय शुरु हुने निश्चित छ।

यसरी हेर्दा, अंबेडकर पार्क निर्माणले सल्हेसको डिब्राह्मणाइजेसन मा भूमिका खेल्नेछ। जसरी अंबेडकरले जातीय शोषण र धार्मिक पाखण्ड विरुद्ध जीवनभर लडे, त्यसैगरी महाराज सल्हेसको जीवन पनि श्रमजीवी समाजको मुक्ति र न्यायसंगत समाज निर्माणमा समर्पित थियो।

कतिपय जातिवादी शक्तिहरूले अंबेडकर पार्क निर्माणको बिरोध दलित समुदायका केही सदस्यहरूमार्फत गराउने प्रयास गर्नु, त्यो इतिहास र चेतनाको डर हो। त्यो डर हो – बहुजन एकताबाट, जातिविहीन समाजको सपना साकार हुने संभावनाबाट।

साथै, यो कुरा स्पष्ट छ कि नेपाल सरकारले अंबेडकर पार्कको निर्माण बहुजन आन्दोलनको प्रभाव र बढ्दो अंबेडकर प्रेमलाई सम्बोधन गर्दै, संभावित वोट बैंकको हिसाबले पनि अघि बढाएको हो। तर यसको राजनीतिक उद्देश्यको आलोचना गर्नु भन्दा, यसको वैचारिक र सांस्कृतिक प्रभावलाई उपयोग गर्दै बहुजन चेतनालाई संस्थागत गर्ने अवसरको रूपमा लिनु बुद्धिमानी हुनेछ।

अन्ततः, अंबेडकर पार्क बनाउनुको विरोध गर्नु भन्दा, त्यो पार्क अंबेडकरको विचारको सजीव केन्द्र बन्न सकोस् भन्ने सुनिश्चित गर्नु आजको चुनौती हो। त्यो पार्क अंधविश्वास होइन, वैज्ञानिक सोच, समानता र संविधानको शिक्षा दिने स्थल बन्न सकोस्। सल्हेस फुलवारी त्यसको एक साँस्कृतिक आधार बन्न सकोस् – जसले बहुजन इतिहास र चेतनाको महागाथा विश्वसामु खोलिदिनेछ।

त्यसैले, सल्हेस फुलवारी नजिक अंबेडकर पार्क निर्माण हुनु सकारात्मक छ, यद्यपि त्यसको प्रयोग र व्यवस्थापन चेतनादायी र वैचारिक हुनु आवश्यक छ। यो बहुजन समाजको गरिमा, इतिहास र भविष्यको खोजको दिशा हो, जसलाई रोक्न खोज्नु यथार्थ र न्यायको विरोध गर्नु सरह हो।

सम्बन्धित समाचार

सबै