सुरुङ्गा सम्बाददाता कडरबोना, ४ मंसिर ।
स्वस्थ जीवनशैली प्रवर्द्धन तथा नागरिकलाई योगप्रति आकर्षित गर्ने उद्देश्यले सप्तरीको सुरुङ्गा नगरपालिकामा पाँचदिने निःशुल्क बृहत् योग विज्ञान शिविर सुरु भएको छ।

नगरपालिकाको आयोजनामा तथा पतञ्जली योग समिति सप्तरीको समन्वयमा शुक्रबारदेखि वडा नम्बर ५ स्थित कुशहाको फुटबल ग्राउन्डमा शिविर सञ्चालनमा आएको हो। मंसिर ४ गतेदेखि ८ गतेसम्म चल्ने शिविर दैनिक बिहान ५ बजेदेखि ६:३० बजेसम्म सञ्चालन हुनेछ।

शिविरको उद्घाटन कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, पूर्वनगरप्रमुख, वडाध्यक्ष, वडा सदस्य तथा पतञ्जली योग समितिका पदाधिकारी र सदस्यसहित १५० भन्दा बढी स्थानीयवासीको उपस्थिति रहेको थियो।
शिविरमा सहभागीहरूलाई योगासन, प्राणायाम तथा स्वस्थ जीवनयापनका विभिन्न विधिबारे व्यावहारिक प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
योग अभ्यासमार्फत शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र दैनिक जीवनमा स्वस्थ आचरण अपनाउन नागरिकलाई प्रेरित गर्ने लक्ष्यसहित शिविर आयोजना गरिएको हो।
नगरपालिकाले शिविरलाई प्रभावकारी रूपमा सफल बनाउन नगरवासीको सक्रिय सहभागिताका लागि आग्रह गर्दै योग अभ्यासबाट प्राप्त हुने स्वास्थ्य लाभ लिन सबैलाई अनुरोध गरेको छ।