
सुरुङ्गा सम्बाददाता
सुरुङ्गा खबर, सप्तरी। पछिल्ला दस दिनयता मधेश प्रदेशका विभिन्न जिल्लामा दलित समुदायमाथि भएका विभेदपूर्ण तथा अमानवीय घटनाप्रति चमार कल्याण समाज नेपाल केन्द्रीय समिति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाजले जारी गरेको विज्ञप्तिमा दोषीहरूमाथि कडा कारबाही गर्न माग गरिएको छ।
समाजका अनुसार सिरहा, रौतहट, पर्सा, सर्लाही र बारा जिल्लामा दलित समुदायमाथि आक्रमण, कुटपिट, घर भत्काउने, धार्मिक कार्यक्रमबाट बहिष्कार गर्ने लगायत घटनाहरू घटेका छन्।
घटनाहरू यसप्रकार छन्:
१) सिरहा — कल्याणपुर नगरपालिका–८, अरगंमा गैरदलित समुदायले पासवान समुदायका घर भत्काएको समाजले जनाएको छ। स्थानीय प्रशासन र प्रहरीकै उपस्थितिमा घटना भए पनि कारबाही नगर्नु दुखद भएको विज्ञप्तिमा उल्लेख छ।
२) रौतहट — विजयपुर फतुवा नगरपालिका–८ मा गैरदलितको समूहले चमार समुदायका युवामाथि सामूहिक कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला अध्यक्ष धर्मेन्द्र कुमार रामले जानकारी दिएका छन्।
३) पर्सा — बहादुरमाई नगरपालिका–७, फुलकौलमा चमार समुदायका सदस्यलाई बाटोमा चप्पल लगाएर हिँडेको भन्दै हृदयानारायण यादवसहितले कुटपिट गरेका थिए। पछि चमार कल्याण समाजको रोहबरमा घटनामा माफी मागिएको छ।
४) सर्लाही — कबिलासीमा दुर्गा पूजामा दुसाध समुदायलाई सहभागी हुन नदिएको र सलहेसलाई अपमान गरिएको समाजले जनाएको छ। वडाध्यक्षलगायत केही स्थानीय नेताले नै विभेदलाई प्रोत्साहन दिएको आरोप लगाइएको छ। घटनास्थलमा समाजका पदाधिकारीले पुगेर पीडितसँग भेटघाट गरेका छन्।
५) बारा — कलैया उपमहानगरपालिका–१७ मा घटस्थापनाको अवसरमा चमार समुदायलाई पूजामा सहभागी हुन नदिएको र पछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएपछि मेलमिलाप गरिएको समाजले जनाएको छ।
चमार कल्याण समाजले यस्ता घटनाले सम्पूर्ण दलित समुदायलाई पीडा दिएको भन्दै विभेदकारीलाई कारबाही गर्न राज्यलाई आग्रह गरेको छ। समाजले दलितलाई अपमान गर्ने धर्म तथा प्रथाको प्रतिकार गर्न सबै समुदाय एकजुट हुनुपर्ने बताएको छ।